पर्यटक घुमाउने स्काई बस सञ्चालन सम्मका एजेण्डा
२०७३ चैत्र १८ – काठमाडौं महानगरपालिकाले तत्काल सुधार गर्नुपर्ने विषयलाई समेटेर कार्ययोजना, २०७३ सार्वजनिक गरेको छ। महानगरपालिको प्रमुख तथा कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक महिनापछि सहसचिव ईश्वर पौडेले ३० बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको उपस्थितिमा सार्वजनिक कार्ययोजनामा काठमाडौं उपत्यकामा बढ्दै गएको धुलो तान्ने बु्रमर खरिद गर्नेदेखि पर्यटक घुमाउने स्काई बस सञ्चालनसम्मका एजेण्डा छन्।
कार्ययोजनामा एक महिनादेखि तीन महिना र ६ महिना भित्र पूरा गर्ने एजेण्डा छन्। जसअन्तर्गत एक महिना भित्र ‘र्यापिड रेस्पोन्स टिम’ गठन गर्ने र उक्त टिमले जनचासोको विषय तत्कालन सुल्झाउने उल्लेख गरिएको छ। एक महिना भित्रै प्रमुख कार्यकारी अधिकृत र सबै विभागका प्रमुखसहितका कर्मचारीको ‘ड्युटी आवर’ तोकिने र जसमा बिहान सात बजेदेखि ११ बजेसम्म, अपरान्ह १२ देखि साँझ पाँच बजेसम्म र पाँच बजेदेखि राति १० बजेसम्म प्रत्येक दिन खटिने व्यवस्था मिलाइने जानकारी पौडेलले दिए।
कार्ययोजनामा तीन महिना भित्र सहरी सडकको सफाई अभियानका लागि उच्च क्षमताका १० वटा धुलो तान्ने ब्रुमर÷सक्सन मेसिन खरिद गरेर प्रयोगमा ल्याइसक्ने जनाइएको छ। कार्यक्रम सुरु हुनु अगाडी अनौपचारिक गफमा उपप्रधानमन्त्री थापालाई पौडेलले भारतको कलकत्तामा एउटा बु्रमरको दुई लाख अमेरिकी डलर पर्ने सुझाएका थिए।
थापाले तत्काल कार्ययोजना मन्त्रालयमा पठाए अर्थसँग समन्वय गरेर बु्रमर खरिदका लागि पहल गर्ने बताएका थिए। सडकको सफाई तालिका बनाएर महानगरका कर्मचारी परिचालन गर्ने विषय समेत कार्ययोजनामा समावेश गरिएको छ।
‘सडक सफा गर्न दैनिक, साप्ताहिक तालिका प्रकाशन गरेर सो अनुसार कर्मचारी सरसफाइमा लगाइन्छ,’ पौडेलले भने,‘ सडक सफा गर्ने कर्मचारीलाई काठमाडौं क्लिनरको नाम दई हाफ ज्याकेट र टोपीसहित तीन महिना भित्र कार्यस्थलमा खट्ने गरी पहिचान दिने तयारीमा छौं।