खेलको पाँचौं मिनेटमै पुलिसले अग्रता लिएको थियो । भरत शाहले गोल गरेका थिए । पेनाल्टी क्षेत्रमा कप्तान जुमनु राईको पास सदुपयोग गर्दै उनले गोलको खाता खोले । घरेलु टिमले दर्शकको साथ पाए पनि २९ औं मिनेटमा पुलिसका अभिषेक रिजालले अर्को गोल थपे । भोला सिलवालको पासमा अभिषेक गोल सफल भए । दोस्रो हाफको इन्ज्युरी समयमा युवराज राईलाई इलामका खेलाडीले फाउल गरेपछि पुलिसले पेनाल्टीको अवसर पायो । त्यसमा पुलिसका तेज तामाङले गोल गरेका थिए ।
नेपाली यू–१९ बाट खेलिसकेका छिरिङ गुरुङको उत्कृष्ट फ्रिकिक पुलिसका गोलरक्षक रोशन खड्काले उत्कृष्ट ढंगले बचाएर पहिलो हाफमा घरेलु टिमलाई अग्रता लिन दिएनन् । दोस्रो हाफमा आक्रामक खेलेको आयोजकले प्राप्त अवसर सदुपयोग गर्न सकेन । अन्तिम समयमा पुलिसका भोला सिलवालले गोल अवसर चुनाए । उनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई इलामका गोलरक्षक विशाल थामीले बचाउन हम्मे परेका थियो ।
पुलिसका भरत शाह म्यान आफ द म्याच भए । अनुभवी जुमनु, भरत र भोलाको प्रदर्शनले सफल सुरुआत गरेको पुलिसले क्वाटरफाइनलमा लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीसँग खेल्ने छ ।
पुलिसका म्यानेजर सुमन सुवेदीले अपेक्षाअनुसार खेल पस्कन नसके पनि जित निकाल्नु महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘आगामी खेलमा दर्शकको चाहनाअनुसार खेल पस्कन्छौं ।’ नयाँ टिम फर्मेसनमा लागेकाले अधिकांश नयाँ खेलाडी उतारे पनि आफूहरू उपाधि होडमै रहेको उनले बताए ।
जिल्लाभित्रका खेलाडीलाई मात्र अवसर दिएको आयोजकले भने प्रशिक्षणको कमीलाई हारको कारण मानेको छ । ‘सम्भावना भएका र प्रतिभावान खेलाडीको टिम बनाएका हौं,’ प्रशिक्षक दर्शन भक्तराजले भने, ‘अनुभवको कमीले स्ट्राइकिङ लाइन कमजोर देखियो ।’
विजेताले ४ लाख पाउने प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए । शुक्रबार रूपन्देही ११ र दुर्गा स्टिल कोलकाताबीच खेल हुनेछ ।