images
images

चीनको केरुङ सडक चालु हुन एकसाता लाग्ने

२०७३ चैत्र १६– चीनले ठोङसाभन्दा मुनि रहेको स्थानमा सुरुङमार्ग बनाउने क्रममा पहरोमा विस्फोट गराउँदा झरेको पहिरो पन्छाउन एकसाता लाग्ने भएको छ ।

रसुवागढीनाकादेखि चिनियाँ भूभाग २४ किलोमिटर छ । मितेरी पुलपारि रहेको चीनको भन्सार कार्यालय रहेको रेसुओपोर्टदेखि १२ किलोमिटर पश्चिमोत्तर पहिरोग्रस्त क्षेत्र रहेको छ । उक्त पहिरो छिचोल्न चीनले तीनसय मिटर सुरुङ निर्माण गरिरहेको छ । एकसय मिटर सुरुङ बनिसकेको छ । वैकल्पिक रुपमा सडक ट्रयाक खनिएको स्थानमा विस्फोटले ढुंगा खसेपछि अझै ८ दिन लाग्ने सडक निर्माणमा खटिएका चिनियाँ प्राविधिकले बताएको हाल केरुङमा रहेका नुवाकोटका व्यापारी तथा कन्टेनर व्यवसायी धर्मलाल श्रेष्ठले बताए । उनले भने, ‘८ दिनयता बाटो खुल्दैन भनेका छन् ।’ चीनको केरुङदेखि ५ किलोमिटर पाङसिङमा ल्याएका सामान लोडअनलोड गरिन्छ । लोड गरिएका सयवटा स्याउका गाडी केरुङमा छन् भने साढे ४ सयवटा पाङसिङमा छन् । त्यसैगरी तीन सयवटा रेडिमेट गाडी लोड भएर केरुङमा रहेको उनले बताए ।

चीनको केरुङ र पाङसिङमा गरी साढे दुई सय नेपाली चालक र सहचालक रहेका छन् । ८ दिनसम्म बाटो नखुले स्याउ लगायतका १ अर्बबराबरको सामान क्षतिपुग्ने श्रेष्ठले बताए । चिनियाँ अधिकारीले सडक रेसुओपोर्ट-केरुङ सडकखण्डको ठोङसा मुनिको पहिरोग्रस्त क्षेत्रको सडक छिट्टै बनाउने जानकारी रसुवा प्रशासनलाई दिएको छ । सिन्धुपाल्चोकको नाका बन्द भएपछि नेपालको उत्तरतर्फ एकमात्रै रसुवागढी नाका हो ।

यो नाका लिच्छविकाल र मल्लकालमा समेत उत्तिकै चलेको नाका हो । त्रिशूली जलविद्युत आयोजना निर्माणको क्रममा वि.सं. २०१४ सालमा ट्रयाक निर्माणपछि फलामे तार, चिउरा, खुर्सानी, सख्खर, तामाका भाडा निर्यात हुने गरेका थिए । त्यतिबेला भेडाच्याङ्ग्रा, उन, जिम्बु आयात हुने गरेका थिए ।

पछिल्लो समय सडक सञ्जालले तिब्बतको ल्हासा जोडिएपछि चीनको व्यापारी सहरको सम्पर्क विस्तार भएको हो । अहिले चिनियाँनाका केरुङबाट फलफूल, तयारी कपडा, जुत्ता, थर्मस, खेलौना, ईलेक्ट्रोनिक सामान आयात हुन थालेका थिए । यहाँबाट थोरै थाङ्का, चिउरा, सख्खर, घिउ निर्यात हुने गरेको छ । वान वेल्ट वन रोडको चिनियाँ नीति यो नाकाले सघाउने विश्वास नेपाली व्यापारीको छ ।