चैत्र १६, आमाशय वा आन्द्राको भित्री भागमा कोतरिनु वा ब्रेक हुनु अल्सर हो । ती अंगको भित्री भागको छाला एकनासले गएको हुन्छ । त्यसमा चोट लागे, घाउ भए अल्सर हुन्छ । अल्सरका तत्कालिक र दीर्घकालिन असर हुन्छन् । अल्सरले विरामीको रक्तस्राव हुने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण हुन्छ । उपचार नभए लामो समयमा ती घाउमा प्वाल पनि पर्न सक्छन् । तर सुरुको मुख्य लक्षण रक्तस्राव नै हो ।
अनुसन्धानकर्ताहरूका अनुसार, अल्सरको मुख्य कारण एक प्रकारको जीवाणु हो, जसलाई ‘हेल्कोब्याक्टर पाइलोरी’ भनिन्छ । यस्तो जीवाणु सर्ने तरिकावारे उनीहरूको फरक–फरक मत छ । तर यो मानिसबाट मानिसमा सर्ने पुष्टि भइसकेको छ । सर्ने माध्यम र प्रक्रिया स्पष्ट हुन सकेको छैन । सानो शिशुको हेरचाहका क्रममा र कुवाको पानी लगायतबाट यो जीवाणु सर्नसक्ने भनेर उनीहरूले औल्याएका छन् । त्यो जीवाणु रहने मानव अंग आमासय नै हो । अल्सरको प्रमुख कारण ‘एच–पाइलोरी’ जीवाणु हो भनेर पत्ता लागेको पनि धेरै समय भएको छैन । सन् १९९० को दशकको अन्त्यतिर यो पत्ता लागेको हो । त्यसभन्दा अघि अल्सरको कारण धेरैलाई थाहा थिएन । यही अनुसन्धानका लागि सन् २००५ मा अष्ट्रेलियाका बैंज्ञानिकले नोबेल पुरस्कार पनि पाएका थिए । औषधि सेवनको असरस्वरुप पनि अल्सर हुने गरेको भेटिएको छ । एस्पिरिन, पेनकिलर खाइरहनुपर्ने बिरामीलाई अल्सरको समस्या देखिनसक्छ । क्यान्सर पनि ग्यास्टिकको अर्को कारण हुनसक्छ । खाना नपच्ने, नरुच्ने, पेट ढाडिएको जस्तो हुने आदि लक्षण देखिनसक्छ ।