कटारी / कटारी नगरपालिकाले नगर भित्रका संस्थागत विद्यालयहरुका लागि आव्हान गरेको छात्रवित्ति परीक्षा आज सम्पन्न भएको छ । त्रिवेणी मावि कटारी ४ मा परिक्षा सम्पन्न भएको हो ।
कटारी नगरपालिकाका २० संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढाउनका लागि नगरपालिकाले २ सय ४१ जनालाई छात्रवृत्ति प्रदान गर्नेछ । परीक्षामा एकहजारबढी विद्यार्थी सहभागी भएका थिए ।
नगरपालिकाको शिक्षा शाखाले लिएको परीक्षामा उल्लेख्य मात्रामा विद्यार्थीहरु सहभागी भएका हुन् । नगर शिक्षा समितिको वैठकबाट वनेको संस्थागत विद्यालय संञ्चालन सम्वन्धि कार्यदलले तयार गरेको छात्रवृत्ति अन्र्तगत छात्रवृत्ति दिन लागिएको हो ।
कटारीका मेयर राजेशचन्द्र श्रेष्ठको अध्यक्षतामा वसेको छलफलले निर्णय गरेको छात्रवृत्ति निर्धारण मापदण्ड अनुसार विद्यालयहरुले विद्यार्थी प्रतिशतका आधारमा छात्रवृत्ति दिने भएका हुन् । जस अन्र्तगत विद्यालयले ६६ र नगरपालिकाले ३४ प्रतिशत छात्रवृत्ति दिने भएको हो ।
उक्त ३४ प्रतिशत छात्रवृत्तिमा पढाउन आज परीक्षा सम्पन्न भएको हो । नगरपालिकाले छात्रवृत्तिका लागि जेहेन्दार , विपन्न , जनजाति , दलित , अपाँग , जनआन्दोलनका घाईते , शहिदका सन्तान , वेपत्ता परिवार , लोपोन्मुख उत्पीडित लगायतका आरक्षित समूहलाई आधार बनाएको थियो ।
यो निर्णय पश्चात धेरैले प्रतिष्पर्धा गर्दा छात्रवृत्तिमा पढ्न पाउने मेयर श्रेष्ठले बताउनुभयो । अभिभावकहरुले भने यो निर्णय सकारात्मक भएको भएपनि यस वर्ष केहि ढिला भएको र आगामी वर्षहरुमा चैत्रमा नै यो प्रकृया अन्त्य गर्नुपर्ने सुझाव दिएका थिए ।


जनता भ्वाइस 








