images
images

मेस्सीले गरे दुई गाेल, बार्सिलाेना ‘काेपा डेल रे’काे क्वार्टर–फाइनलमा प्रवेश

काठमाण्डाै – बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार भएको खेलमा लेगानेसलाई पाँच–शून्यकाे फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियाेजल मेस्सीले दुई गाेल गरे । उनले खेलकाे ५९औँ र ८९औँ मिनेटमा गाेल गरे ।

साथै एन्टाेनी ग्रिजम्यानले खेल सुरु भएकाे ४औँ मिनेटमा गाेल गर्दा क्लिमेन्ट लेन्ग्लेटले २७औँ मिनेट र अर्थुर मेलाेले खेलकाे ७७औँ मिनेटमा गाेल गरे । लेगानेसविरुद्धकाे दुई गाेलसँगै मेस्सीले स्पेनिस फुटबलमा ५ सय खेल जित्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन् । जितसँगै बार्सिलोना अन्तिम ८ मा प्रवेश गरेको छ, जहाँ रियल मड्रिड, भ्यालेन्सिया, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र सेभिल्ला पुगिसकेका छन् ।

बार्सिलोनाले लेगानेसविरुद्धको खेलमा जित निकाल्दै लयमा फर्किएको सङ्केत दिएको छ । नयाँ प्रशिक्षक क्विकेको साथमा घरेलु मैदानमा जित निकाल्न सफल भए पनि बार्सिलोनालाई खेल जित्न भने हम्मे–हम्मे पर्दै आएको छ ।