images
images

ए डिभिजन लिग : मनाङ र मच्छिन्द्रकाे बहुप्रतिक्षित खेल, जावलाखेलकाे लक्ष्य अपराजित

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साेमबारदेखि पाँचाैँ चरणका खेलहरु सुरु हुँदैछन् । चौथो चरणको खेल गएकाे बिहीबार सकिएको थियो ।

गएकाे शुक्रबार एक दिन ‘रेस्ट डे’ राखिएकाे थियाे । बिहीबारदेखिकाे माैसममा आएको खराबीका कारण शनिबारदेखि सुरु हुनुपर्ने लिग साेमबारबाट सुरु हुन लागेको हो । दशरथ रङ्गशाला हिलाम्य हुने भन्दै खेल दुई दिन स्थगित गरिएकाे हाे, पाँचाै चरणका सबै खेल यहीँ नै हुने छन् ।

प्रतियोगितामा साेमबार दुई वटा खेल हुँदैछन् । मध्याह्न १२ बजे हुने पहिलाे खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब प्रतिस्पर्धा गर्देछन् ।एनआरटीले जारी लिगमा २ खेलमा जित हात पार्दै ४ अङ्क जोडेको छ । गएकाे संस्करणको लिगमा पुछारमा रहेकाले एनआरटीको २ अङ्क घटाइएको छ । याे खेलमा एनआरटी विजयी भए साताैँ स्थानमा पुग्ने छ ।

यस्तै जावलाखेल भने जारी प्रतियोगितामा अपराजित रहेको छ । चार खेलमध्ये २ खेलमा जित र २ खेलमा बराबरी गर्दै ८ अङ्क जोडेको जावलाखेल याे खेलमा विजयी भए केहीबेरका लागि भए पनि ११ अङ्कका साथ शीर्ष स्थानमा पुग्ने छ । यस्तै दिउँसो ३ बजे मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब खेल्दैछन् । यो सिजनमा मनाङबाट अधिकांश खेलाडीहरुलाई अनुबन्ध गराएको मच्छिन्द्रकाे खेलमा धेरैको नजर रहने छ । त्यसाे त मनाङले जारी लिगमा सम्हालिएर प्रदर्शन गर्दै अपराजित रहन सफल भएको छ ।

दुवै टिम अपराजित रहेकाले आजको खेलमा पनि अपराजित रहने योजनामा हुने छन् । नतिजाले लिगको तालिकामा पनि प्रभाव पार्ने छ । मनाङ विजयी भए शीर्ष स्थानमै यथावत् रहँदा मच्छिन्द्र विजयी भए मछिन्द्र नै शीर्ष स्थानमा पुग्ने छ । पराजय वा बराबरीले भने दुवै टिमलाई अङ्कमा घाटा लाग्ने छ ।