images
images

पाकिस्तान सुपर लिग तालिका सार्वजनिक : सबै खेल पाकिस्तानमै हुने

काठमाडौँ – पाकिस्तान सुपर लिग ‘पीएसएल २०२०’ को तालिका सार्वजनिक भएको छ । पीएसएलका सबै खेल यसपटक पाकिस्तानमा खेलिनेछ । यसअघि यो प्रतियोगिताका केही खेलहरु यूएईमा आयोजना गरिएका थिए । २० फेब्रुअरीमा सुरु हुने प्रतियोगिता २२ मार्चमा समापन हुँदासम्म पाकिस्तानका ४ शहरमा खेलाइने छ । पीएसएलमा जम्मा ३४ म्याच हुनेछन् ।

सुरक्षाको कारण देखाउँदै यसअघि यूएईको राजधानी दुबइमा हुँदै आएको पीएसएलमा पाकिस्तान क्रिकेट बाेर्ड पीसीबीले यसपटक सबै खेल पाकिस्तानमै गर्ने निर्णय गरेको हाे । पीएसएल पाकिस्तानका चार शहर कराची, लाहोर, रावलपिन्डी र मुल्तानमा आयोजना हुनेछ ।कराचीको नेशनल स्टेडियममा ९, लाहोरको गद्दाफी स्टेडियममा १४, रावलपिन्डीमा ८ र मुल्तानमा ३ खेल हुनेछ ।

यो सिजनको पहिलो खेल क्वेटा ग्लाडिएटर्स र इस्लामावाद यूनाईटेडकाबीच हुनेछ । उद्घाटन खेल कराची र फाइनल लाहोरमा गर्ने पनि पीसीबीले जनाएको छ । कराचीमा क्वालिफायर र लाहोरमा एलिमिनेटरका खेलहरु पनि आयोजना गरिनेछन् ।

पीसीबीका अध्यक्ष एहसान मनीले टेस्ट क्रिकेटको पुनरागमनसँगै पीएसएलको आयोजना पाकिस्तानमै गर्नु ठूलो उपलब्धि भएको बताएका छन् ।