सिन्धुली । लटरम्मै फलेका टमाटर, सेतै फुलेका काउली लाइनले रोपेका आलुका बिरुवा, टलक्क टल्किने बन्दा अनि त्यसैको आसपासमा प्याज, लसुन र धनियाँ । कमलामाई नगरपालिका–८ का चित्रनारायण श्रेष्ठको बारीमा यतिबेला देख्न सकिन्छ । उनले यसरी तरकारी खेती गरेको धेरै भयो । उनको पुख्र्यौली पेसा पनि कृषि नै हो तर पछिल्लो समय यसलाई थप व्यावसायिक बनाए । धान मकैभन्दा राम्रो आम्दानी दिने भएपछि उनले तरकारी खेतीलाई व्यवसायीकरण गरे । यही तरकारीबाट उनले एक वर्षमा २ लाखको हाराहारीमा आम्दानी गर्छन् ।
यतिले उनलाई चित्त बुझेन । २०७२/७३ मा उनले राष्ट्रिय वाणिज्य बंैकबाट १० लाख ऋण लिएर बाख्रा फर्म दर्ता गरेर बाख्रापालन गरे । बाख्राबाट उनको आम्दानी वार्षिक चारदेखि ५ लाख रुपैयाँ हुन थालेको छ । उनको परिवारले २०३३ सालदेखि सोही स्थानमा निरन्तर रूपमा मौसमअनुसारका खेती र गाईबस्तु पाल्दै आएका थिए तर उनले यसलाई अर्गानिक र व्यावसायिक खेतीका रूपमा विस्तार गरे । उनी भन्छन्, ‘एक डेढ बिघामा मौसमअनुसारका तरकारी उत्पादन गर्न गाह्रो छैन’ तर उनलाई बाटो र बजारनजिकै नहुँदा भने अलिक समस्या छ । उनले उत्पादित तरकारी भिमान बजार, कर्करे, माइस्थानका बजार तथा होटलमा बोकेर लानुपर्छ बिक्रीका लागि । स्थानीय साना बजार तथा होटलमा पु¥याएर तरकारी बेच्ने उनी आफ्नो व्यवसायबाट खुसी छन् ।
उनले सञ्चालन गर्दै आएको बाख्रा फर्ममा ६० देखि ७० वटा खसी नियमित हुन्छन् । एउटा खसी मासुका लागि योग्य हुन ३ वर्ष समय पाल्नुपर्ने उनको भनाइ छ । उनले खसीबाख्रालाई अन्न खुवाउँदैनन् घाँस मात्र खुवाउँछन् जसले गर्दा बोसोको मात्र एकदमै कम हुन्छ । त्यस्तो मासु मानव स्वास्थ्यका लागि हितकर हुने उनी बताउँछन् । खसी लिन मानिस घरैमा आउने भएकाले उनलाई बजारको भने चिन्ता छैन ।
श्रेष्ठ खेती तथा बाख्रापालनबाहेक सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि उत्तिकै लगाव र चासो दिन्छन् र त्यस्ता काममा समय दिन्छन । उनी हाल कमलाजी जन्मस्थान सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष, कमला निम्न माध्यमिक विद्यालय तिनतलेको अध्यक्ष छन् । यसअघि उद्योग वाणिज्य संघ सिन्धुलीको सदस्यसमेत थिए उनी ।
बिहान दिउँसो अरू काममा व्यस्त हुँदा खेतबारीको काम गर्न भ्याएनन् भने उनी राति पनि तरकारी बारीमा व्यस्त हुन्छन् । आफूले गर्नुपर्ने काम सकेर मात्र सुत्ने उनको बानी छ । उनलाई परिवारका सदस्यको भरपुर सहयोग छ । उच्च शिक्षा पढ्दै गरेका छोराछोरीले पनि बिदाका समयमा उनलाई खेती तथा खसीबाख्राको हेरचाह गर्न सघाउँछन् । उनी भन्छन्, ‘श्रमको सम्मान तथा कामप्रतिको लगाव छोराछोरीले बुझेका, सिकेका छन् ।’
श्रेष्ठले कृषि विकास कार्यालयमार्फत ५० प्रतिशत अनुदानमा खेत जोत्ने ट्याक्टर र राष्ट्रपति चुरे संरक्षरण कार्यक्रमबाट तरकारी खेतिका लागि टनेल पाएका छन् । यसबाहेक उनले कुनै पनि निकायको सहयोग लिएका छैनन् । ‘कृषिको काम दुःखको काम भएकाले स्थानीय सरकारले किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिन्छन् ।
यस्तै, उनले स्थानीय निकायले हरेकवडामा कृषि प्राविधिकको व्यवस्था गरेमा खेतबारीमा आएका समस्या समाधान गर्न सहज हुने बताए । श्रेष्ठको तरकारी खेती तथा बाख्रा फर्म हेर्न सदरमुकामदेखि छिमेकी जिल्लाबाट समेत किसान आउने गरेको उनले बताए । भन्छन्, यसले मलाई यो पेसामा उत्साह जागेको छ ।
श्रेष्ठले आफू मात्र हैन गाउँका अरू युवाहरूलाई कृषि पेसा गर्न सुझाव दिन्छन् तर उनको त्यो अभियान भने सफल भएको छैन । नेपालमा बढ्दै गएको बेरोजगारी, वैदेशिक रोजगारीमा युवाहरूको बढ्दो आर्कषण, श्रम गर्नेहरूप्रति हेर्ने दृष्टिकोण आदि कारणले पछिल्लो पुस्ताले कृषिमा ध्यान दिन नदिएको उनको ठम्याइ छ ।