काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला यति बेला चर्चामा छन्। १४ औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीका साथ कोइराला देश दौडाहामा छन्। कांग्रेसका सबैजसो नेता काठमाडौँमै केन्द्रित भएर आन्तरिक किचलोमा रुमल्लिरहेका बेला उनी भने लगभग सबै जिल्ला पुगिसकेका छन्। पार्टीलाई कमजोर बनाउन सभापति शेरबहादुर देउवाको मुख्य हात रहेको आरोप लगाउँदै आएका कोइरालाप्रति देउवाले पनि ‘विरासतको राजनीति गर्न खाजेको’ खाजेको भन्दै कटाक्ष गरेपछि कांग्रेसभित्रको राजनीति गर्माएको छ।
पार्टीका अरु वरिष्ठ नेताहरुले आफूप्रति गर्दै लगाउँदै आएको आरोपलाई सुनेको नसुन्यै गरेका देउवाले कोइरालाको भनाइप्रति गरेको टिप्पणीलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रुपमा समेत हेरिएको छ। उनै कोइरालासँग सरकारको एक वर्षको काम कारबाही तथा पार्टीका गतिविधिबारे देश सञ्चारका प्रकाश ढकालले कुराकानी गरेका छन्।
तपाईँ देश दौडाहामा हुनुहुन्छ, लगभग सबै जिल्लामा पुगिसक्नुभएको छ। संविधान घोषणापछि जनतामा एक खालको आशा थियो। अहिले जिल्ला जिल्लामा पुग्दा सरकार र राजनीतिक दलहरु नागरिकको धारणा कस्तो पाउनुभयो ?
जनताले खोजेको ५–६ वटा कुरा मात्र हो। एउटा शान्ति सुरक्षा खोजेका छन्। तर, जनताले शान्ति सुरक्षा भइरहेका छैनन् भन्ने कुरा चारैतिर देखिन्छ। निर्मता पन्त, मोरङमा भएको रुपमति भन्ने बालिकाको कुरा गर्नुहोस् वा हालसालैको महोत्तरीको घटनाको कुरा गर्नुहोस्। शान्ति सुरक्षा विल्कुलै नाजुक अवस्थामा देखिएको छ। जनताले खोजेको अर्को दण्डहीनताको अन्त्य हो। दुई तीनवटा उदाहरणले दण्डहीनताको अवस्थालाई दर्शाउँछ। माओवादी केन्द्रको व्यक्ति जो पहिले सांसद थिए, जेल गए। यो सरकार आउने वित्तिकै छुट्छन्। त्यस्तै अर्को व्यक्ति सांसद बने जेलमै बसेर, आजको दिन पनि जेलमा छन्। सरकारले कुनै पार्टीलाई खुशी बनाउन शपथ खुवाएर फेरि जेलमा फर्कायो। यी घटनाले दण्डहीनता कति पराकाष्टामा छ भन्ने देखिन्छ। उनीलाई भोलि छोडियो भने पनि आश्चर्य चकित नभए हुन्छ।
जनताले खोजेको अर्को कुरा भ्रष्टाचार नियन्त्रण हो। तर, त्यो संस्थागत हुँदैछ। अरु कुरा गरौंला वाइड बडीको कुरा गर्नुहोस्, लेखा समितिले छानबिन गर्छ। त्यसको प्रतिवेदन तयार नहुँदै सरकारले छानबिन गर्न न्यायिक आयोग बनाउँछ। कुरो बढो रमाइलो छ, ४५ दिन पुगेपछि न्यायिक आयोगमा राखिएको व्यक्तिले भन्छ: मैले त नियुक्ति नै पाएको छैन। जनता त न्यायिक आयोगको रिपोर्ट के आउँछ भनेर पर्खेर बसेका छन्। नेपाल भ्रष्टाचारको दलदलमा फसिसकेको छ। त्यो राजनारायण पाठकको विषय होस् वा अरु कुनै विषय। अन्तर्राष्टिय रुपमा पनि नेपाल बद्नाम भएको छ। मेलम्चीको विषयमा पनि भ्रष्टाचार भयो।
हामी पैसा दिन्छौँ, त्यसको ५० प्रतिशत हामीलाई देउ भनेको अब त जगजाहेर भयो। पर्यटन सचिवलाई इण्डियाबाट ल्याएको बस चाइनिज भनेर प्रमाणित नगर्दा सरुवा गरियो। यी घटनाले के देखाउन्छ भने सरकार अराजकतातिर गइरहेको छ। महंगीको अवस्था उस्तै छ। दैनिक उपभोग्य सामानको भाउ बढेको छ। जनताले नजिकबाट हेरिरहेका छन्। उनीहरुले खोजेको शान्ति सुरक्षा, दण्डहीनता, सुशासन, महंगी नियन्त्रण, विकास निर्माण केही पनि पाएका छैनन्। यो सरकारको एक वर्षको अवधिमा केही पनि भएको छैन। सफल वा असफल के भएको छ तपाईंहरुले भने भन्ने हो। मेरो नजरमा त असफलता नै असफलता छ। भेनेजुयला प्रकरणबारे पनि सरकार र नेकपाले अनाआवश्यक रुपमा बोलेको छ। त्यसले असल सम्बन्ध भएको अमेरिकासँगको हाम्रो सम्बन्ध चिसो भएको छ।
डरलाग्दो अवस्था नागरिक समाजतिर देखिन्छ। किनभने नागरिक समाज विभाजित अवस्थामा छन्। देशका लागि यो राम्रो होइन। नागरिक समाज भनेको त सरकार र प्रतिपक्षले गलत काम गर्दा खबरदारी गर्ने हो। तर अहिले गलतलाई गलत भन्नु भन्दा पनि गलतलाई सही गरेको छ भनेर पुष्टि गर्न खोजिरहेको देखिन्छ। यो स्वस्थ्य संकेत होइन। नागरिक समाज भनेको स्वतन्त्र रहनुपर्छ। नागरिक समाज कमजोर हुनु भनेको देशका लागि घाटाको विषय हो।सरकारको कामकारबाहीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षामाथि नै प्रश्न गर्न थालिएको हो?
हामी सबै मिलेर गणतन्त्र ल्यायौँ। तर जनताले त्यसको अनुभूत गर्न पाएनन्। राष्ट्रपतिलाई अझ सुविधा दिनका लागि, बिलासी बनाउनका लागि गणतन्त्र ल्याइएको हो? धनी मुलुकले सुहाउँदो गरिहेको होला तर हामी डेढ अर्बको हेलिकप्टर राष्ट्रपतिका लागि सधैँ प्रयोग गर्न सक्ने अवस्थामा छौँ त? त्यसका कुनै तर्क छ? मन्त्री क्वाटर भत्काएर गेष्ट हाउस बनाउने रे। किन चाहियो नेपाल जस्तो देशमा अहिले? संघीयता त धरापमै पर्न थाल्यो भनेर सबैले लेख्न थालेका छन्। कम्युष्टिहरुको त सातवटै प्रदेश सरकारमा छन् तर पनि संघीयता जान लाग्यो भन्दै छन्। प्राकृतिक स्रोत तथा वित्त आयोगले अहिलेसम्म पूर्णता पाएको छैन। प्रहरी प्रशासन अझै पनि केन्द्र मातहत राखिएको छ। प्रस्तावित कानुनमा पनि प्रदेशलाई अधिकारबिहीन बनाउने कोशिश गरिएको छ। सिडियोलाई झन शक्तिशाली बनाउन खोजिँदैछ। संघीयतामा सिडियोलाई शक्तिशाली बनाउने हो कि प्रदेशलाई? कर्मचारी समायोजन पनि हुन सकेको छैन। अर्को कुरा धर्मनिरपेक्षता पनि बनाइयो तर ओलीजीले होलीवाइन खानुभयो। यो घटनालो देशको शिर निहुरियो कि निहुरिएन? एउटा होटलको कोठामा प्रधानमन्त्री तीन दिन बस्दा के सन्देश गयो?
सरकारको बाँकी चार वर्ष पनि यस्तै रहला कि आश गर्ने ठाउँ झै बाँकी छ?
आश त गर्नै पर्यो। सरकार यही हो। हामी प्रतिपक्षमै हुन्छौँ। संसदमा संख्याका हिसाबले हामी कमजोर अवस्थामा छौँ। यसरी नै चल्यो भने त झन् झन् खस्किँदै जान्छ। भोलि जे पनि हुन सक्छ यो देशमा।
त्यो जे पनि भन्नाले कतातिर संकेत गर्नु खोज्नुभएको हो ?
देशको आर्थिक अवस्था घट्दो अवस्थामा छ। डाबोसमा गएर प्रधानमन्त्रीले लगानीका लागि आह्वान गरे पनि त्यसले परिणाम देला जस्तो छैन। ओलीजीको नेतृत्वमा सरकार बनेपछि वैदेशिक लगानी ४० प्रतिशतले घटेको छ। व्यापार घाटा चार खर्बबाट सात खर्बमा पुगेको छ। शोधनान्तर घाटा घटेको छ। यसले के देखाउँछ भने आर्थिक र वित्तीय अवस्था धरापमा पर्दै गएको छ। त्यसको प्रमाणका रुपमा अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमाथि हस्तक्षेप गर्न खोजिरहेको छ। न्यायपालिका निरीह अवस्थामा पुगेको छ। प्रधानन्यायाधीशलाई कम्युनिष्ट सांसदहरुले खबरदार भनेका छन्।
मिडियामा सेल्फ सेन्सरसिपमा गइसकेको छ। तपाईँहरु मान्नुहोस् वा नमान्नुहोस्। एउटा पशुपति शर्मा भन्ने व्यक्तिले गीत बनाउँदा सरकार थरर भयो र भातृ संस्थाले खबरदार गर्यो। युट्युबबाट हटाइयो। अर्को देशको अन्तिम शक्ति सेनामाथि पनि आक्रमण भइरहेको छ।
व्यवसायिक र गैर राजनीतिक संस्था सेनामाथि यो गर्यो, त्यो गर्यो भनेर आइरहेको छ। बिमिस्टेक बैठकमा सदस्य देशहरुले भारतको पूनेमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गरे। प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले संसदमा बोल्नुभयो। तेस्रो दिन आकाशवाणी भयो र निर्णय रोकियो। आर्मीलाई विवादित बनाउने काम भयो।
सरकारले यति धेरै बेठिक काम गर्यो भनिरहँदा त्यसलाई रोक्ने, सन्तुलित गर्ने काम प्रतिपक्षीका रुपमा तपाईँहरुको होइन?
त्यसमा कांग्रेस चुकेको छ। किन चुकेको छ भने सातवटै प्रदेश र संघमा संख्याका हिसाबले हाम्रो न्यून उपस्थिति छ। पहिलो हामी चुक्यौँ नीति तथा कार्यक्रममा। विश्वको कुनै पनि देशमा नीति तथा कार्यक्रमलाई प्रतिपक्षले समथर्न गरेको इतिहास छैन। तर हामीले हुन्छ पनि भनेनौँ, हुँदैन पनि भनेनौँ। हामीमा राजनीतिक संस्कार छैन। नैतिक चरित्र पनि हामीले गुमाइ सकेको छौँ। नैतिक चरित्र गुमाइसकेपछि यस्ता कुरा भन्नलाई गाह्रो हुन्छ। त्यही कारणले हो हामीले संसदमा पनि कडा ढंगले बोल्न नसकेको र जनतामा पनि जान नसकेको छ।
संक्रमणकालीन न्यायलाई जसरी मिलाउन खोजिँदै छ यसले सार्थकता पाउला ? अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्लान्?
सुरुमा त यो प्रक्रियामा म पनि सहभागी भएको थिएँ। संविधान घोषणापछि यसमा मैले नजिकबाट काम गरेको छैन। जे सुरु भए पनि त्यसमा केही निश्चित विषय छन्, जसलाई अन्तर्राष्ट्रिय समुदायले मात्र होइन नेपालीहरुले पनि विश्वास गर्दैनन्। तीन चार किसिमको अवराधमा नियमित प्रक्रियाबाटै जानुपर्छ। होइन भने देश फेरि द्वन्द्वमा फस्न सक्छ। किनभने अन्तर्राष्ट्रिय समुदाय यसमा अत्यन्त गम्भीर छ भन्ने कुरा प्रधानमन्त्री डाबोसमा हुँदा उनीहरुले बोलेका छन्। तीन चारवटा मुद्दामा कारवाही हुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्नैपर्छ। उनीहरुको विश्वासबिना हामी अघि बढ्यौँ भने एक छिनलाई ठीक देखिएला। तर, नेपालको भविष्यका निम्ति दण्डहीनताको जुन सवाल त्यसमा नेपाल फेरि फस्न सक्छ। हामीमध्ये कोही अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ भन्ने होइन, तर विश्वसनीय ढंगले केही मुद्दाका दोषीमाथि कारवाही हुनैपर्छ।
अब नेपाली कांग्रेसको आन्तरिक राजनीतिको विषयमा कुरा गरौँ। जिल्लामा कांग्रेस कार्यकर्ताको मनस्थिति कस्तो पाउनुभयो?
पार्टीका हिसाबले हेर्ने हो भने नेपाली कांग्रेसका कार्यकर्ताहरु निराश, हत्तोसाहित देखिन्छन्। सँगसँगै अब हामी जुरमुराउनु पर्यो भन्ने पनि देखिन्छ। दुई तिहाइको सरकार छ। गाउँमा कम्युनिष्टहरुले अत्यन्त दुःख दिइरहेका छन्। निरुत्साहित र हतोत्साहित हामीसँग भएका रहेछन्, नेताहरुसँग केन्द्रीय सदस्यहरुसँग। किन भने कांग्रेसले जे डेलिभर गर्नुपर्थ्यो, त्यो एक वर्षको बिचमा गर्न सकेनौं। सरकारले यति अराजक काम गरेको छ, त्यो कुरा हामीले जनता माझमा पुर्याउन सकिरहेका छैनौं। त्यसले गर्दा नेतृत्वप्रति आश मारेको देखिन्छ। केही गर्दैनन् यिनीहरुले भन्ने पाएँ। अर्को मैले के देखेँ भने कांग्रेसका नेताहरु जनतासँग जोडिनै छाडेछौँ हामी। बिपी कोइरालाले जनतासँगै नजिक भएर काम गर्नुभयो। जनताले खोजेको कुराहरुलाई उहाँले मुुखरित गर्नुभयो। तर, पछिल्लो समय जनतासँग हामी धेरै टाढा भएछौँ। जिल्लाका साथीहरु गाउँ नजाने, हामी केन्द्रका जिल्ला नजाने, अनि कार्यकर्ताको मनोबल के हुन्छ?
नेताहरुको अभिव्यक्ति सुन्दा त १४ औँ महाधिवेशन सुरु भइसक्यो जस्तो गरी आरोप प्रत्यारोप सुरु भएको भएको देखिन्छ नि?
महाधिवेशन त भइदिए त राम्रो नि। तर, सभापति अझै अढाइ वर्ष कार्यकाल बाँकी छ भनिरहनुभएको छ। यो कुरा केन्द्रीय कार्यसमितिमा बोल्नुभयो, मिडियामा बोल्नुभयो। महाधिवेशन सुरु भएको तीन वर्ष पूरा भएर चौथो वर्ष लागिसक्यो, अब त अधिवेशन सुरु गर्दा हुन्थ्यो। अधिवेशन थालिहाल्नु पर्ने कारण पनि छन्। निर्वाचन क्षेत्र गाभिँदा, फोरम लोकतान्त्रिकबीच एकता हुँदा क्षेत्रीय प्रतिनिधि एउटै क्षेत्रमा तीनजना सम्ममा भएको अवस्था छ। त्यसलाई तदर्थ बनाउनुभन्दा अधिवेशन नै गर्नु राम्रा हो। मेरै क्षेत्रमा पनि तीन जना क्षेत्रीय सभापति छन् अहिले। एउटा पुरानो हाम्रो, अर्को जोडिएपछि आएको र अर्को फोरम लोकतान्त्रिक। यस्तो अवस्थामा अब अधिवेशन गरौँ न। सभापति अधिवेशनसँग डराउनु हुँदैन। उहाँ किन भन्दै हुनुहुन्छ मेरो कार्यकाल साढे पाँच वर्ष हो भनेर। साढे पाँच वर्षमा गर्ने भनेको असामान्य अवस्थामा हो। सुरु नै नगरी म गर्न सक्दिन भन्नु उपयुक्त हो र? यो त नेतृत्वको कमजोरी होइन र?आउँदो महाधिवेशनमा तपाईं सभापति लड्ने तयारी गरेपछि सभापतिले ‘विरासतले नेतृत्व पाइँदैन’ भन्नुभएको छ। तपाईँ कोइराला परिवारको विरासत बोकेर नेतृत्वमा आउन खोज्नु भएको हो ?
सभापतिजीले बोल्नै पर्दैन। धेरैपटक शेखर कोइरालाले भनेको छ: विरासतको राजनीतिमा विश्वास नै गर्दिन भनेर। मैले भनेको छु सभापतिजीले मलाई किन सम्झाउनु पर्यो ? बरु विरासत त अरुहरुले गरिरहेका छन् भने मलाई थाहा छैन। विरासतले हुँदैन। नेपाली कांग्रेसलाई बनाउने क्रममा कोइराला परिवारको मात्र हात छैन। अरु धेरै मानिसको रगतले सिञ्चित पार्टी हो कांग्रेस। त्यो हामीले बुझेका छौँ। उहाँले बुझाई रहनु पर्दैन।
कांग्रेसभित्रको यस्तो किचलोले ऊ स्वयम् र देशलाई हानि गर्दैन? कांग्रेस कमजोर हुँदा व्यवस्था नै कमजोर हुन्छ भनेर तपाईंहरु आफै भन्नुहुन्छ?
२०५९ सालमा राजाले सत्ता लिँदा पनि कांग्रेस कमजोर नै थियो। दुईवटा पार्टी थियो। कांग्रेस प्रजातान्त्रिक गोर्खाका राजाले न्याय दिए भन्दै सरकारमा थियो। निर्वाचन आयोगमा चुनाव चिन्ह कस्ले लिने भन्ने विवाद पुगेको थियो । त्यतिबेला नेपाली कांग्रेस कमजोर थियो । त्यसै बेला राजाको दबदबा र माओवादी पनि थियो । तर नेतृत्वले कांग्रेसभित्र अधिवेशन गराउनुभयो । पार्टीमा उर्जा थपिँदै गयो । कांग्रेसलाई गतिशिल बनाउने भनेको कार्यक्रमबाट हो । गिरिजाप्रसाद कोइरालाले त्यही गर्नुभयो । कार्यकर्तालाई गाउँ गाउँ पठाउन थाल्नुभयो । आफैं जान थाल्नुभयो । हामीलाई माओवादीसँग वार्ता गर भन्नुभयो, कसैले राजासँग पनि वार्ता गरे होलान् । पार्टीलाई पनि एक ढिक्का बनाएर लैजान थाल्नुभयो । अहिले नेपाली कांग्रेस कमजोर छ कम्युनिष्टसँग मात्रै लडौं भनेर हुँदैन । कांग्रेसलाई एक ढिक्का गर्ने हो भने अधिवेशन अहिले नै सुरु गर्नुपर्छ । अनि मात्र कांग्रेस एक ढिक्का हुन्छ । आन्तरिक जीवन बलियो नभई पार्टी बलियो हुँदैन ।
संविधानको विषय त झन् पेचिलो बन्ने भो होइन ?
महासमितिमा दुवै नेताले उभिएर पार्टीलाई एक ढिक्का बनाउछु भनेका थिए । विधानलाई कार्यकर्ताले भने जसरी नै परिमार्जन गर्छु भनेका थिए । त्यो निर्णय गर्न उहाँहरुलाई कसले रोकिरहेको छ ? त्यो त नेतृत्वको कमजोरी हो । झुटको खेती गरेर राजनीति चल्दैन । पार्टीलाई कहाँ पुर्याउँछु भन्ने कुरा हेर्नुपर्यो। महासमितिका ८० प्रतिशतभन्दा बढीले महाधिवेशन प्रतिनिधि हुन सभापतिसहित सबैले तलैबाट लडेर आउनुपर्छ भन्दा पनि त्यसलाई नमान्ने ? अनि आफूलाई डेमोक्रेटिक भन्ने ? महासमिति ठूलो कि केन्द्रीय समिति ठूलो ? ठूला ठूला कुरा गरेर मात्र हुँदैन । उहाँहरु दुवैजनाले हाम्रो इमोसनल अट्याचमेण्ड र डिप लभ छ भनेर भनेका होइनन्? खै कहाँ गयो त्यो ? अब यो कुरा भन्दा उहाँहरुलाई रिस उठ्छ भने मलाई भन्नु केही छैन ।अधिवेशन नहुँदा नेविसंघ, दलित संघ जस्ता भातृ संगठन सानेपा पार्टी कार्यालयभित्र आन्दोलन गरिरहेका छन् । किन अधिवेशन हुन सकिरहेको छैन ?
अस्ति उपसभापति ज्यूलाई नेविसंघका साथीहरुले गरेको दुर्व्यवहार दुःखद छ। त्यो जसले गरे पनि गलत हो । तर पार्टीले पनि हेर्नु पर्दैन । दुई वर्षमा अधिवेशन गर्नुपर्छ भनेको छ । सभापतिले नै साढे पाँच वर्षमा अधिवेशन गर्छु भनेपछि तल कसरी हुन्छ । उहाँकै कारण दलित संघमा सात वर्षदेखि, प्रजातान्त्रिक सैनिक संघमा नौ वर्षदेखि अधिवेशन हुन सकेको छैन । आफूले जित्ने ठाउँमा अधिवेशन गराउन खोज्ने तर आफू हार्ने ठाउमा गराउन नचाहने प्रवृत्ति छ । जसले जिते पनि पार्टी, संगठन बलियो हुन्छ । व्यक्ति बलियो भएर हुँदैन । पार्टी बलियो भयो भने हामी आफैं बलियो हुन्छौँ । देशसंचारबाट प्रकाशित गरिएको