images
images

एसियाली खेलकुद आजदेखि नेपालले २९ खेलमा भाग लिने

काठमाण्डौ भदौ २,हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ । इन्डोनेसियाले दोस्रो पटक एसियाडको आयोजना गर्न लागेको हो । यस अघि इन्डोनेसियाले सन् १९६२ मा एसियाडको आयोजना गरेको थियो ।

इन्डोनेसियाको राजधानी जकार्ता ट्राफिक जामका लागि विश्वमै बदनाम सहर हो। केही किलोमिटरको दूरी तय गर्न घण्टौं लाग्नुलाई यहाँ सामान्य मानिन्छ। तर विश्व खेलकुदमा ओलम्पिकपछिको दोस्रो ठूलो खेल महोत्सव एसियाली खेलकुद आयोजना गर्न तम्तयार रहँदा इन्डोनेसियाले ट्राफिक व्यवस्थापन चुस्त पार्न थुप्रै प्रयास गरेको छ।

१९५१ देखि सुरु भएको एसियाडको १९ औं संस्करण चीनले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । चीनले यसअघि २०१० मा पनि आयोजना गरेको थियो । उद्घाटनमा कलाकारहरुले प्रस्तुती दिने बताइएको छ । जसमा ठूलो संख्यामा कलाकारहरुको सहभागिता रहने बताइएको छ ।

एसियाली खेलकुद (एसियाड)को १८ औं महोत्सवका लागि ४५ देशबाट १२ हजारभन्दा बढी खेलाडीले विभिन्न ४७ खेलमा ४ सय ६२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने महोत्सवका लागि इन्डोनेसिया पूरा तयार भइसकेको छ। शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने उद्घाटन समारोहका लागि जकार्ताको गेलोरास्थित बङ कामो रंगशाला दुलहीजस्तै सिँगारिएको छ।

नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
नेपालले २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाडका ४५ देशका खेलाडीले उद्घाटन समारोहमा मार्चपास गर्नेछन् । मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन् । २००६ मा श्रीलंकामा भएको १० औं सागमा उनले स्वर्ण जितेका थिए । भारोत्तोलनमा सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन् ।

नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ । जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ । त्यो पदक विधान लामाले दिलाएका थिए । २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् । उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन् ।

नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल हो । यद्दपी पछिल्लो दुई संस्करणमा भने तेक्वान्दो खाली हात फर्केको छ । चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो । चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए । यसपटक कुन खेलले नेपालको इज्जत राख्ने वा निराश भएर फर्कन पर्ने हो त्यसका लागि अब केहि दिन प्रतिक्षा गर्नुपर्ने छ ।

एसियाभरबाट आएका खेलाडी, खेलपदाधिकारी, पत्रकार तथा दर्शकलाई उद्घाटन समारोहमा इन्डोनेसियाको कला, संस्कृति र विकास तथा संवृद्धि देखाएर मनोरञ्जन प्रदान गर्न १० हजार कलाकार तम्तयार छन्। उद्घाटन हुने रंगशालामै शुक्रबार उनीहरूले बन्द ढोकाभित्र भव्य रिहर्सल गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। यसपालिको एसियाली खेलकुद इन्डोनेसियाले जाकार्ता र पालेम्बाङ गरी दुई फरक सहरमा गर्दै छ। एसियाली खेलकुदको १८औं महोत्सव इन्डोनेसियाका लागि दोस्रो आयोजना अनुभव हुनेछ। यअसघि इन्डोनेसियाले १९६२ मा पहिलो पटक एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सव आयोजना गरेको थियो।