काठमाण्डौ । जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै फितलो रह्यो । ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने अर्का ओपनर अनिल शाह ८ रन बनाउँदै पभेलियन फर्केका थिए । पारस खड्काले २२ रन तथा दिपेन्द्र संह ऐरीले २५ रनको योग्दान दिएका थिए ।
आज आरिफ शेख ५ रन तथा रोहित पौडेल बिना खाता खोली नै आउट हुन पुगे । त्यस्तै शक्ति गौचन पनि डक आउट भए भने करण केसीले १३ रनको पारी खेले । सोमपालले अन्त्यमा ३६ रन जोड्दै नेपालको पारी केही उकासे पनि विकेट हातमा नभएका कारण नेपाल पराजित हुन पुग्यो । सन्दिपले पनि अन्त्यमा करियरको सर्वाधिक १४ रनको पारी खेले । नेदरल्यान्ड्सका बलर रोलोफ भान डेर मर्वले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वाधिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याएका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवार्ड्सले समान २५ रनको योग्दान दिए ।


जनता भ्वाइस 








