काठमाडौं, फालगुण १२:- गत बुधबार प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डा नाइके मनोज पुनले एकै व्यवसायीसँग ६० करोड रुपैयाँ फिरौती मागेको खुलेको छ। काठमाडौंका एक व्यवसायीसँग पैसा माग्दै उनले धम्काएका थिए।
पुन मारिएपछि प्रहरीको सम्पर्कमा पुगेका ती व्यवसायीले सो घटनापछि आफु निदाउन थालेको बताएका छन्।
रुपन्देहीका एसपी श्याम ज्ञवालीलाई फोन गर्दै उनले आफ्नो पीडा सुनाएका हुन्। ‘तँसग ३ अर्बको सम्पती छ, ६० करोड मलाई चाहिन्छ’ भन्दै पुनले धम्काएको ती व्यवसायीले बताएका छन्। उनको गाडी नम्बरदेखि सबै विवरण संकलन गरेर पुनले धम्काएका थिए।
ती व्यवसायीजस्तै अन्य दर्जनौं व्यवसायीले घटनापछि प्रहरीलाई फोन गरेर प्रहरीलाई धन्यवाद दिएका छन्। ‘रुपन्देहीमा धेरै व्यवसायीहरु पुनको समूहको धम्कीका कारण मर्निङ वाक नै जान छाडेका रहेछन्,’ एसपी ज्ञवालीले भने,‘अब ढुक्कसँग मर्निङ वाक जान्छौं भन्ने थालेका छन्, त्यो समूहबाट डराएर केही व्यवसायीहरु घरबाटै निस्कने छाडेको समेत खुल्यो।’
पुनको समूहले तीन जनाको हत्या गरिसकेको थियो। देशका अधिकांश ठुला व्यवसायी र ठेकदारहरुलाई फोन गर्दे धम्काइएको थियो।
गत वर्ष पुस ४ गते दुर्गा तिवारीको हत्या गरी उनीहरुले अन्य व्यवसायीलाई धम्काएर असुली सुरु गरेका थिए। सो समूहले कतिसम्म आतंक मच्चाएको थियो कि अन्य गुन्डाहरुले समेत पुनका समूहको नाम लिएर धम्काएर पैसा असुल्न थालेका थिए।
पुन र उनका प्रमुख सहयोगी सोम आले गत बुधबार बिहान साढे ३ बजे रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट मारिएका थिए। सिआईबीको सूचनाका आधारमा रुपन्देही प्रहरीले उनीहरुलाई पछ्याएकोमा मुठभेड भएको प्रहरीले जनाएको छ। प्रहरी गोलीबाट मारिएका दुवै जनाको अन्तेष्टि भइसकेको छ।
घटनापछि धेरै व्यवसायीहरुले प्रहरीलाई फोन गरेर धन्यवाद दिएका छन्।
सो समूहका अन्य सदस्यहरु पनि आफुहरुको खोजीमा रहेको एसपी ज्ञवाली बताउँछन्।
पुन देशको आन्तरीक सुरक्षाकै प्रमुख चुनौती बनेका थिए। इन्टरनेट कलमार्फत धम्काउने र हुन्डीमार्फत उनले पैसा असुल्दै आएका थिए। अन्र्डरवल्र्डमै शैलीमा उनले संगठित रुपमा अपराध सुरु गरेपछि व्यवसायीहरु आतंकित बनेका थिए भने प्रहरीका लागि प्रमुख चुनौती बनेको थियो।