images
images

मासु पसलका कामदार बने अर्बपति

आफ्नो विरासत र पुर्खाले आर्जेको सम्पत्तिबाट केन्नेथ र वोन चाङ अर्बपति बनेका होइनन् । गरिब र मजदुर परिवारमा जन्मेरै पनि यी दुई जना विश्वका धनाढ्यमा दरिएका छन् । आफ्नै पौरख र श्रमबाट सफल उद्यमी बन्न सफल भएका छन् 

२०७४ वैशाख १० – अमेरिकी जति सबै जन्मजात धनी हुन्नन् । अझ विश्वका डलर अर्बपतिमा दरिएकामध्ये केही अमेरिकीको पारिवारिक आर्थिक अवस्था पहिले अत्यन्तै नाजुक रहेको र पछि संघर्षबाटै धनाढ्य बनेका प्रशस्तै उदाहरणहरू पनि छन् । तिनैमध्येका एक हुन्, केन्नेथ ल्याङ्गोने । ८१ वर्षअघि न्युयोर्कको ‘रोलिन्स हाइट’ मा मजदुर परिवारमा उनको जन्म भएको हो । उनका बुबा प्लम्बर थिए भने आमा क्याफ्टेरियामा काम गर्थिन् । केन्नेथ आफैं धेरै संघर्षशील थिए । आफ्नै परिश्रम र मेहनतबाटै उनी अर्बपति बनेका हुन् ।

अमेरिकास्थित बकनेल विश्वविद्यालयमा विद्यार्थी छँदै उनले सानातिना विभिन्न काम गरेका थिए । कुनै पनि कामलाई उनले सानो वा ठूलो भनेनन् । मासु पसलेको सहयोगीदेखि खाल्डो खन्नेसम्मका काम उनले गरे । अझ एक चकलेट उद्योगमा क्यान्डीसमेत बनाएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भए पनि उनी धनाढ्य बन्न चाहन्थे । लक्ष्यमा पुग्न उनले एकैपटक धेरै नोकरी गरे । त्यसबाट मनग्ये आयआर्जन गर्न पनि सफल भए । काम र कमाइसँगै आफ्नो पढाइलाई समेत उनले नियमित राखेका थिए । साढे तीन वर्षमा उनले स्नातक उत्तीर्ण गरे । त्यसपछि ‘न्युयोर्क युनिभर्सिटी स्टर्न स्कुल अफ बिजनेस’ मा रात्रिकालीन सेवामा भर्ना भई दिउँसो अन्यन्त्र पूर्णकालीन काम गर्ने गर्थे ।

पढाइ सकेपछि केन्नेथले व्यापारमा हात हालेका थिए । केही समय अन्तरालमै उनले रोस पेरोट्स कम्पनी ‘इलेक्ट्रोनिक डेटा सिस्टम’ सँग सम्झौता गर्दै आफ्नो व्यापारलाई चम्काउन थाले । यसमा दशकसम्मको अनुभव संहाल्दै उनी ‘होम इम्प्रुभमेन्ट’ व्यापारमा लागेका थिए । संजोग नै भन्नुपर्छ, यो व्यापार थालेकै बेला यस्तै प्रकृतिको काम गर्ने अर्को एउटा कम्पनीको जालो ‘ह्यान्डी ड्यान’ को सेयर खरिद गर्न पुगे । यसले उनको सम्बन्ध ‘ह्यान्डी ड्यान’ का सीईओ बर्नाड मार्कस र सीएफओ अर्थर ब्ल्याङसँग कायम हुन पुग्यो । कम्पनीमा थोरै लगानी गरे पनि उनले मार्कसमाथि आफ्नो विश्वास जमाउन सफल भए । त्यसैक्रममा उनले ‘दि डेलिन कर्पोरेसन’ का सीईओ स्यान्डफोर्ड सिगिलफसँग पनि आफ्नो सम्बन्ध विस्तार गरे । केही समयमै उनले ह्यान्डी ड्यान कम्पनीको सबै सेयर बेचे । त्यस बापत पाएको रकमले उनी ‘होम डिपोट’ कम्पनी खडा गरे । हाल उनको कम्पनीको राष्ट्रिय स्तरको एउटा सञ्चालन नै कायम छ, जसमा तीन लाखभन्दा बढी कर्मचारी कार्यरत छन् । अमेरिकी उद्यमी केन्नेथ इन्भेस्टमेन्ट ब्यांकर पनि हुन् । अमेरिकी अखबार ‘फोर्ब्स’ का अनुसार केन्नेथको कुल सम्पत्ति ३ दशमलव १ अर्ब (रियल टाइम २१ अप्रिल २०१७) अमेरिकी डलर रहेको छ । ‘वाल स्ट्रिट’ मा प्रवेश गर्नुअघि दुई वर्ष अमेरिकी सेनामा समेत काम गरेका उनले सन् १९९९ मा न्युयोर्क विश्वविद्यालयमा एक करोड अमेरिकी डलरको ‘पार्ट टाइम’ पढ्ने विद्यार्थीका लागि एमबीए कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका थिए । सन् २००८ मा उनले स्वास्थ्य केन्द्रलाई २० करोड डलर सहयोग गरेका थिए । हाल यी दुई संस्था उनकै नाममा सञ्चालित छन् । उनी यतिमै आफूलाई सीमित राखेका छैनन् । अन्य परोपकारी काममा पनि उनको लगानी बढदै गएको छ ।

अर्का धनाढ्य दक्षिण कोरियाली नागरिक डो वोन चाङको जीवन संघर्ष र सफलताको कथा पनि उस्तै छ । वोन चाङ दक्षिण कोरियाको एक अत्यन्तै गरिब परिवारमा जन्मेका हुन् । आफ्नो परिवारको गरिबी हटाउन उनी अमेरिका छिरे, एकै समयमा तीन वटासम्म काम थाले । कफी पसलमा वेटरको कामसमेत गरे । साथै एक कम्पनीमा चौकीदारको नोकरी पनि । दुई ठाउँमा काम गर्दा पनि नपुगेपछि उनी आफैंले एउटा कपडा पसल पनि सञ्चालनमा ल्याए । यो पसल यति लोकप्रिय बन्यो कि केही महिनाभित्रै त्यसका ४ सय ८० शाखा खोलियो ।

गरिबीका कारण डो वोन मुस्किलले हाइस्कुलको शिक्षा हासिल गरे । सन् १९८१ मा उनी राम्रो कमाइ गर्नकै लागि २२ वर्ष उमेरमै अमेरिका प्रवेश गरेका हुन् । त्यहाँ पुगे पनि उनीसँग कुनै सीप थिएन । फेरि अमेरिकाजस्तो मुलुक, जहाँ कम पढेलेखेकाले कामै पाउन मुस्किल थियो । के गर्ने भन्ने चिन्तामा थिए, उनी । त्यसै क्रममा बिहानको समयमा एउटा कफी सपमा उनले काम पाए । दिउँसोको समय खाली भएपछि फेरि अर्को नोकरीको खोजीमा उनी जुटे ।

केही दिनमै दिउँसो एउटा ग्यास पम्पमा चौकीदारीको काम र बेलुका विभिन्न कार्यालयहरूको सरसफाइ गर्ने काम सुरु गरे । यी कामहरूले गर्दा उनी मध्यरात्रिसम्म व्यस्त रहन्थे । ग्यास स्टेसनमा काम गर्ने क्रममा उनले धनी मानिसहरू गार्मेट उद्योग सञ्चालन गरी चिल्लो कार चढ्ने गरेको कुरो थाहा पाए । किनभने त्यहाँ गार्मेट उद्योग सञ्चालकहरू पनि सयम समयमा आउने गर्थे । तिनीहरूसँग पनि उनी प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाएका थिए । ती उद्यमीसँग प्रभावित भई उनले कपडा स्टोर सञ्चालनमा ल्याए । ती स्टोरबाट तीन वर्षमै उनले ११ हजार अमेरिकी डलर बचत गर्न सफल भए । त्यसपछि सन् १९८४ मा लस एन्जेलसमा ९ सय वर्गफुटमा अपारेल स्टोर खोले । यो स्टोरले पहिलो वर्षमै ७ लाख अमेरिकी डलरको कारोबार गर्न सफल भयो । त्यसपछि उनलाई कहिले पछाडि फर्केर हेर्नु परेन । आज, हरेक छ महिनामा उनी एउटा नयाँ स्टोर खोल्ने गर्छन् ।

‘फोर्ब्स’ का अनुसार सन् २०१५ मा विश्वका ४८ मुलुकको ७ सय ९० स्टोरबाट ४ दशमलव ४ अर्ब अमेरिकी डलरको कारोबार भएको थियो । डो वोनको व्यापारमा उनकी श्रीमती जिन सुक चाङले सहयोग गर्छिन् । हाल यी दुई दम्पत्तिको कुल सम्पत्ति २ दशमलव ८ अर्ब अमेरिकी डलर (रियल टाइम २१ अप्रिल २०१७) रहेको छ । ६३ वर्षअघि डो वोन बसाइँसराइ गरी अमेरिका गएर उद्यमी बन्नेमध्येका एक हुन् । उनी आफूलाई खुद्रा कपडा पसल ‘फारइभर २१’ का संस्थापक र मालिकका रूपमा स्थापित गर्न सफल भएका छन् । एजेन्सीहरू)