वर्षका चर्चित : प्रभावशाली प्रतिभा
नेपाली खेलकुदले ०७३ सालमा विभिन्न उपलब्धि हासिल गर्यो । १२ वैशाख ०७२ मा विनासकारी भूकम्पले थिलोथिलो बनाएको यो क्षेत्रमा थुप्रै आशाका किरण देखिएका छन् । ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ३१औं गृष्मकालीन ओलम्पिक, भारतको सिलीगुडी र सिलोङमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद र गत पुसमा पूर्वाञ्चलका विभिन्न शहरमा आयोजित सातौं राष्ट्रिय खेलकुदले सम्भावना र आशालाई उजागर गरेको छ । ०७३ सालमा नयाँ ऊर्जा र सम्भावना देखाएका केही खेलाडीलाई यस सामग्रीमा समेट्ने प्रयास गरिएको छ ।
कान्छी पौडीवाज
गत वर्ष रियो दी जेनेरियोमा सम्पन्न ३१औं गृष्मकालीन ओलम्पिकमा संसारभर नेपालको नाम तरंगित भयो । कुनै खेलाडीले पदक जितेर वा चमत्कारिक प्रदर्शनले नेपालको नाम गुञ्जयमान भएको थिएन । सात समुन्द्रपारिको देशबाट संसारभर नेपाललाई चिनाउने काम गरेकी थिइन्, जलपरी गौरिका सिंहले । उनी रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाउन सफल भइन् । आफ्नो इभेन्टमा हिट चरणबाटै बाहिरिए पनि गौरिका रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बनिन् ।
२०७३ सालले नेपाली खेलकुदका साथै खेलाडीलाई पनि चर्चाको शिखरमा पुर्यायो। खेलकुदमा लागेको छोटै समयमा पछिल्लो पुस्ताका थुप्रै खेलाडीले आफ्नो सम्भावना उजागर गरेका छन्।
सानै उमेरमा विश्व खेलकुदको कुम्भमेलामा सहभागी भएर उनले वाहवाही त कमाइन् नै, देशको पनि नाम संसारभर फैलाउन सफल भइन् । १३ वर्षकै उमेरमा पौडीबाट विश्व खेलकुदको कुम्भमेला ओलम्पिकमा सहभागी उनी ११ हजारभन्दा बढी प्रतिस्पर्धीमाझ आकर्षणको केन्द्र बनेकी थिइन् । उनी ओलम्पिकमा प्रतिस्पर्धा गर्दा १३ वर्ष दुई सय ५५ दिनकी थिइन् । गौरिका रियो ओलम्पिकमा सहभागी हुनुअघि १२औं सागमा एक रजतसहित चार पदक जितेर कीर्तिमान बनाएकी थिइन् । व्यक्तिगत स्पर्धामा पौडीमा पदक जित्ने पहिलो खेलाडी बनेर कीर्तिमान बनाइन् । दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
यसअघिका सहभागितामा नेपालले टिम इभेन्टमा पदक जिते पनि व्यक्तिगत स्पर्धामा भने पदक जित्न सकेको थिएन । गौरिकाले सागमा दुई सय मिटर इन्डिभिजुअल मिड्लेमा दुई मिनेट ३३ दशमलव २६ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित रजत पदक हासिल गरिन् । यस्तै, चार सय मिटर फ्रिस्टाइल, एक सय र दुई सय मिटर ब्याकस्ट्रोकमा कास्य पदक जितेकी थिइन् । उनले गत वर्ष विभिन्न प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले सागमा व्यक्तिगत स्पर्धामा सात तथा टिम स्पर्धामा तीन गरी १० कीर्तिमान बनाएकी थिइन् । १६औं फिना वल्र्ड च्याम्पियनसिपमा पनि गौरिकाले दुई राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
१० मंसिर ०५९ मा जन्मेकी गौरिका सधैं व्यस्त रहन्छिन् । साताको चार दिन बिहान अभ्यास हुने भएकाले पाँच बजे नै स्विमिङ पुल पुगिसकेकी हुन्छिन् । लन्डनस्थित मिलहिल बस्ने उनी ह्याबरडेसर्स गल्र्स स्कुलमा कक्षा नौ अध्ययनरत् छिन् । उनको स्विमिङ करिअर चालु राख्न स्कुलको पनि उल्लेख्य भूमिका छ । रियो ओलम्पिकअघि उनी सबैभन्दा बढी फिना अंक ल्याउने नेपाली जलपरी थिइन् । यही कारण उनको ओलम्पिकमा ढोका खुलेको हो । उनका बाबु डा. पारसबहादुर सिंह युरोलोजिस्ट हुन् । उनी लन्डनस्थित रोयल फ्रि हस्पिटलमा काम गर्छन् । कुनै बेला एसएलसी बोर्ड टपर आमा गरिमा राणा भने गौरिकाको पौडी व्यवस्थापन गर्दै आएकी छन् ।
फुटबलमा नवयुग
कहिलेकाहीँ जितिसकेको खेल हारिन्छ, हारिसकेको खेल पनि जितिन्छ । यसरी निस्कने अनपेक्षित एवं नाटकीय नतिजालाई ‘भाग्यको खेल’ भनिन्छ । तर, लगातार एकै प्रकारको सुखद् परिणाममा ‘भाग्य’ मात्र कारक हुँदैन । त्यसका पछाडि खेलाडीले गरेको कडा मेहनत, परिश्रम र खेलप्रतिको एकाग्र भावलाई कारक मानिन्छ । त्यही कुरा लागु हुन्छ, राष्ट्रिय फुटबलका स्ट्राइकर नवयुग श्रेष्ठमा पनि । उनले फुटबलमा पाइला चालेको छोटो अवधिमै दुर्लभ उपलब्धि हासिल गरे । नवयुगले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेको लामो समय भएको छैन ।
सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपमा पहिलोपटक झुल्किएका थिए । उनलाई चर्चामा भने सन् २०१६ मा बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकपले ल्यायो । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका उनले त्यसपछि पछाडि फर्किनु परेको छैन । भारतमै आयोति १२औं सागमा लगातार दुई ह्याट्रिक गरेपछि उनले ‘ह्याट्रिक हिरो’ को उपमा पाए । समूह चरणको खेलमा भुटानविरुद्ध ह्याट्रिक गरेका उनले सेमिफाइनलमा तेस्रो ह्याट्रिक गरे । निर्धारित अवधिसम्म बराबरीमा रहेको खेलको अतिरिक्त समयमा एक गोलले अग्रता लिइसकेको प्रतिद्वन्द्वी माल्दिभ्सलाई स्तब्ध पार्दै उनले लगातार दुई गोल थपे र चमत्कारिक ढंगले नतिजा उल्टाइदिए ।
यसअघि निर्धारित समयमा पनि उनले एक गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका २५ वर्षीय नवयुगले छोटो अवधिमै यस्ता उपलब्धि हात पारे, जुन नेपाली फुटबलका निम्ति दुर्लभ थियो । उनले एकै चरणको साग खेलकुदमा दुई पटक ह्याट्रिक गर्नुका साथै अन्तर्राष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने पाँचौं नेपाली खेलाडीमा आफ्नो नाम दर्ता गराए । बंगबन्धु गोल्डकपको सफलता पनि लामो प्रतीक्षापछिको प्रतिफल थियो । त्यसअघि २३ वर्षसम्म नेपाल अन्तर्राष्ट्रिय उपाधिविहीन अवस्थाबाट गुज्रिरहेको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले लामो समयदेखि गोलको खडेरी बेहोरिरह्यो । त्यो अभावलाई पूर्ति गर्ने काम नवयुगले गरिदिए ।
नेपालका अरू स्ट्राइकर पाइसकेको बललाई ह्यान्डल गर्न नसकिरहेको अवस्थामा नवयुगले आफूले पाएको बललाई सही ‘फिनिसिङ’ दिन सके । तर, उनी राष्ट्रिय टोलीमा पर्नुलाई पनि संयोगकै रूपमा हेरिएको छ । म्याच फिक्सिङ काण्डमा राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी मुछिएपछि उनले अवसर पाएका थिए । संयोगकै रूपमा टोलीमा परे पनि त्यो अवसरलाई भने उनले भरमग्दुर सदुपयोग गरेका छन् । उनले आफूलाई स्टार फुटबलका रूपमा उभ्याएका छन् । इलामको मंगलबारेस्थित सामान्य परिवारमा २५ वर्षअघि नवयुगको जन्म भएको थियो । उनका बुबा सरकारी विद्यालयमा प्रावि शिक्षक छन् । मंगलबारेकै विद्यालयबाट प्लस टु सकेका उनी ०६५ सालमा नेपाली सेनामा भर्ना भएका थिए ।
उसुकी स्वर्ण
भारतको गुवाहाटी र सिलोङमा आयोजित १२औं सागमा स्वर्ण पदकका लागि नेपालले चौथो दिनसम्म कुर्नुपर्यो । स्वर्ण पदकका दाबेदार मानिएका खेलाडीहरू लगातार विमुख भइरहेको अवस्थामा १६ वर्षीया निमा घर्तीमगरले उसुमार्फत् नेपाललाई पहिलो स्वर्ण दिलाइन् । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी उनले व्यक्तिगत स्पर्धामा उसुको थाउलोमा सफलता हासिल गरेकी थिइन् । नानछ्वान अलराउन्डर स्पर्धामा कुल १६ दशमलव ८९ अंक बटुल्दै स्वर्ण जित्दा नानछ्वानमा आठ दशमलव ४३ र नानदाओमा आठ दशमलव ४६ अंक जोडेकी थिइन् । रुकुमकी उनी १७औं एसियाली खेलकुदमा छनोट भएर पनि सहभागी हुन पाएकी थिइनन् ।
उसुको स्पर्धा समावेश नहुँदा उनी भाग लिनबाट वञ्चित भएकी थिइन् । त्यसैले उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता नै १२औं साग बन्न पुग्यो । निमाका लागि ०७३ साल ऐतिहासिक रह्यो । सिलोङमा जितेको उनको त्यही स्वर्णले उनलाई चर्चाको शिखरमा पुर्यायो । एक गुमनाम खेलाडीबाट एकैपटक ‘स्टार’मा दरिन पुगिन् । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी निमाले राष्ट्रिय खेलुकद परिषद्ले गत २६ फागुनदेखि थालेको राष्ट्रिय टोलीमा रहेर प्रशिक्षण गर्दै आएकी छन् ।
कीर्तिमानी फुपूल्हामु
नेपाली खेलकुदमा चर्चाको शिखरमा छिन्, फुपूल्हामु खत्री । १२औं सागमा स्वर्ण पदक विजेता उनले गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि नयाँ कीर्तिमान बनाइन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी फुपूल्हामुले झापाको काँकरडभिट्टामा चार सेकेन्डमै विपक्षी खेलाडीलाई पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक चुमेकी थिइन् । सरल, स्पष्ट र मृदुभाषी उनको यही गुणले हरेक खेलाडीसँग सामीप्यता दिलाउ“दै आएको छ ।
भारतीय खेलाडी सुनिवाला देवीलाई फाइनलमा हराएपछि निकै भावविह्वल भएकी फुपूले १२औं सागमा नेपालका लागि दोस्रो स्वर्ण पदक भित्र्याएकी थिइन् । उनले विपक्षीलाई हराएसँगै आफ्नो स्वर्ण पदक स्वर्गीय बाबुप्रति समर्पित गरेकी थिइन् । सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियमको इन्डोर हलमा फुपूल्हामुले महिला ६३ किलो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
श्रीलंकाका डिबाइएल बाजेबर्देने, बंगलादेशकी कान्ता र पाकिस्तानी अब्रिन मसिहलाई इप्पोन (नकआउट) मा हराएपछि उनले स्वर्णका लागि अन्तिम स्पर्धामा देवीसँग पूरा चार मिनेट भिड्दै ओजारीका आधारमा स्वर्ण हात पारेकी थिइन् । फुपूल्हामुले दक्षिण एसियाली खेलकुदमा २१ वर्षपछि नेपाललाई जुडोमा स्वर्ण पदक दिलाएकी हुन् । अझ, सागमा स्वर्ण पदक भित्र्याउने पहिलो नेपाली खेलाडी हुन् ।
सानै उमेरमा विश्व खेलकुदको कुम्भमेलामा सहभागी भएर गौरिका सिंहले वाहवाही कमाइन् नै,देशको पनि नाम संसारभर फैलाइन् ।
१२औं सागमा सहभागी हुनुअघि उनले हंगेरीमा भएको ओपन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् । रियो ओलम्पिकमा सहभागिता जनाएर ‘ओलम्पियन’ को छवि बनाएकी २१ वर्षीया उनले वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिप खेलिसकेकी छन् । फुपूल्हामु हंगेरीमा एक महिना विशेष प्रशिक्षण गरेर साग खेल्न सिलोङ पुगेकी थिइन् ।
रियो ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को छात्रवृत्तिमा हंगेरीमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् । ताप्लेजुङ, लेलेप स्थायी घर भएकी उनी बीबीएस अध्ययनरत छिन् । खेलकुदले नै आफूलाई चिनाएकाले यसबाट टाढा हुन नसक्ने बताउँछिन् । अर्को वर्ष इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने १३औं सागको तयारीमा व्यस्त छिन् अहिले ।