२०७४ वैशाख ५- अमेरिका र बेलायतले नेपाली जनता निर्वाचन मार्फत् आफना प्रतिनिधि चुन्न आतुर रहेको विश्लेषण गरेका छन् ।
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनसँग मंगलबार बहादुरभवनमा भएको भेटमा अमेरिकी कार्यवाहक राजदूत माइकल गोञ्जालेस र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
कार्यवाहक राष्ट्रपति पुनसँगको भेटमा गोञ्जालेसले आफूहरु देशका विभिन्न भागमा जाँदा स्थानीय जनता स्थानीय तहको निर्वाचनमार्फत् आफ्ना प्रतिनिधि चुन्न आतुर भएको पाइएको जानकारी गराउनु भएको हो ।
नेपालको लागि आगामी आठ महिना निकै नै महत्वपूर्ण भएको बताउदै उहाँले सबै तहको निर्वाचनपछि नेपालले विश्व समुदायलाई नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभएको कार्यवाहक राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यवाहक राष्ट्रपतिसँगको भेटमा आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यवाहक राष्ट्रपति पुनले अमेरिकाका कार्यवाहक राजदूत गोञ्जालेससँगको भेटमा स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउनु भएको थियो । उहाँले तीन तहको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमण पूर्ण रुपमा अन्त्य हुने र नेपाल आर्थिक समृद्धिको यात्रामा द्रुत गतिमा अगाडि बढ्ने बताउनुभयो ।
उहाँले नेपाली जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तनको परिणाम छिट्टै नेपालको समृद्धिमा देखिने बताउनुभयो । कार्यवाहक राष्ट्रपति पुनले नेपाल र अमेरिकाका दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै दुई देशबीचको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यवाहक राष्ट्रपतिसँगको भेटमा बेलायतका राजदूत मोरिसले दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिंदै स्थानीय तहलगायतका निर्वाचन सफलताको शुभकामना दिनुभएको कार्यवाहक राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यवाहक राष्ट्रपति पुनले बेलायतका राजदूत मोरिसँगको भेटमा नेपाल निर्वाचनतर्फ अगाडि बढेको बताउनुभयो । उहाँले वैशाख ३१ गते स्थानीय तहको र त्यसपछि लगतै प्रदेश र केन्द्रको चुनाव हुने भएकोले नेपालीहरु निर्वाचनमा व्यस्त रहेको बताउनुभयो । कार्यबहाक राष्ट्रपतिले नेपाल र बेलायतको मित्रतालाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।