images
images

बेल्ट एन्ड रोड इनिसिएटिभ’मा नेपालकाे सहभागिताकाे लागि चिनियाँ जाेड

 २०७३ चैत्र १३ – प्रधानमन्त्री पुष्पकमल दाहालले बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन केन्द्रको उद्घाटन गरेका छन् । आइतबार अपरान्ह विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाली भाषा अध्ययन केन्द्रको उद्घाटन गरी उनले मन्तव्य पनि राखेका छन्। विश्वविद्यालयका अध्यक्ष फङ लोङले प्रधानमन्त्री दाहालको स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालको लिखित मन्तव्यमा सबै विषयको सिलसिलेवार प्रस्तुति थियो । उनले अंग्रेजी भाषामा बोलेका थिए भने मुख्य चिनियाँ पाहुनालाई तुरुन्तै चिनियाँ भाषामा अनुवाद गरेको श्रवण मेसिन उपलब्ध गराइएको थियो। दाहालको मन्तव्यको मुख्य सार चिनियाँ पूँजी र प्रविधिले नेपालको विकासमा राम्रो प्रभाव पार्ने बताएका थिए । चीनले अगाडि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यक्रममा नेपालले चाँडै सहभागिता जनाउने प्रतिवद्धता जनाउँदै नेपाली जलविद्युत कृषि पर्यटन लगायतका क्षेत्रमा चिनियाँ लगानीको व्यापक सम्भावना रहेको उल्लेख गरे।

नेपालमा भरखरै सम्पन्न लगानी सम्मेलनमा विभिन्न देशले भाग लिएको र सम्पूर्ण लगानीकर्तामध्ये ६० प्रतिशित चिनियाँ लगानीकर्ताको उपस्थितिले पनि नेपालमा चिनियाँ लगानीको विषय महत्वपूर्ण रहेको उनले औँल्याए। भूकम्पपछि बन्द रहेको तातोपानी खासा नाका खुलाउने आफूले विशेष प्रयत्न गरेको बताउँदै प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्धमा इतिहास बोकेको नाकालाई सुचारु गर्ने र चीनसँगका अन्य नाका पनि खोल्ने कुरामा नेपालले चिनियाँ पक्षलाई भनेको उल्लेख गरे । उनले चिनियाँ पर्यटकलाई नेपालमा थप आकर्षित गर्ने बताउँदै चीनसँग यस बारेमा पनि कुराकानी भएको बताए।

प्रधानमन्त्रीभन्दा अगाडि कार्यक्रमलाई सम्बोधन गरेका परराष्ट्रमन्त्री प्रकाशसरण महतले मौखिक मन्तव्य राखेका थिए। परराष्ट्रमन्त्री महतको सम्बोधन अत्यन्त भद्रगोल थियो । कतिपय अवस्थामा उनी अकमकिएका थिए भने आफ्नो मन्त्रालयको विषयभन्दा पनि अन्य विभिन्न विषयमा छरिएका थिए । उनले नेपाल र चीनबीचको सम्बन्धको कुरा गर्दा अनावश्यक रुपमा भारतलाई जोडेका थिए । उनले आफ्नो मन्तव्यको अन्तमा चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यक्रमको थोरै प्रशंसा गरेका थिए तर नेपाल सहभागी हुने प्रतिवद्धता भने व्यक्त गरेनन् । उनले एसियाली पूर्वाधार लगानी बैंकको पूरा नाम उच्चारण गर्न पनि जानेनन् ।

कार्यक्रमको अन्तमा सहभागीले सोधेका प्रश्नको प्रधानमन्त्री दाहालले उत्तर दिएका थिए । प्रश्नकर्ताहरु विश्वविद्यालयमा अध्ययनरत चिनियाँ विद्यार्थीहरु रहेका थिए । अधिकांश प्रश्नकर्ताले प्रधानमन्त्री दाहाललाई ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यक्रममा नेपाल कहिले सहभागी हुन्छ भनेर प्रश्न गरेका थिए ।

उनीहरुको प्रश्नलाई दाहालले ‘मैले अगाडि नै भनिसकेँ नेपाल चाँडै यो कार्यक्रममा सहभागी हुन्छ,’ भनेर बारम्बार उत्तर दिनु परेको थियो।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध आपसी सन्जाल लगायतका विषयको प्रश्न उठाउनेहरुले पनि घुमाइफिराई उही कुरा दोहोर्यासएपछि दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यक्रममा चिनियाँ चासो आफूले बुझेको र यसमा नेपालको पनि उज्जवल भविष्य रहेको बताएका थिए । सन् २०१४ मा नेपालले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको बताउँदै अब चाँडै नै अन्तिम सम्झौतामा हस्ताक्षर गर्ने जानकारी दिए।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि विश्वव्यापीकरणका विरुद्ध चुनौति देखा परेको अवस्थामा नेपालले यसलाई कसरी हेर्छ र छिमेकी मुलुकहरुसँग सम्बन्धलाई लिन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले आफूहरु सैद्धान्तिक रुपमा कम्युनिष्ट रहेको बताउँदै विश्वव्यापीकरणमा आएका परिवर्तनलाई आत्मसात गर्ने उल्लेख गरे। प्रश्नोत्तर कार्यक्रम झन्डै १५ मिनेट चलेको थियो ।

प्रधानमन्त्री दाहाले आइतबार बिहान ग्रेटवालको भ्रमणमा गएका थिए भने अरनिकोले बनाएको श्वेत चैत्यको पनि अवलोकन भ्रमण गरेका थिए ।