रोल्पा,२०७३ चैत ६ सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि दलहरु बिस्तारै त्यसको तयारी गर्दैछन् । सत्ता गठबन्धनको ठूलो दल नेपाली काँग्रेस रोल्पाले बैठक बसी निर्वाचन केन्द्रित कार्यक्रम आरम्भ गर्ने जनाएको छ । पार्टी केन्द्रको परिपत्र प्राप्त हुनेबित्तिकै सबै नगरपालिका र गाउँपालिकामा प्रतिनिधि खटाई निर्वाचन केन्द्रित कार्यक्रम गर्ने तथा उम्मेदवार पनि छनोट गर्ने पार्टी सभापति अमरसिं पुनले बताउनुभयो । जिल्लाका कार्यकर्ता केन्द्रको कार्यक्रम पर्खेर बसेको पुनको भनाइ छ ।
काँग्रेस रोल्पाले माओवादी अतिप्रभावित मानिने थवाङमा चैत ५ गते जिल्ला कार्यसमितिको बैठकसमेत सम्पन्न गरिसकेको छ । प्रतिपक्ष दल नेकपा (एमाले) रोल्पाले भने एक चरणमा जिल्लाका अधिकांश गाउँपालिका कार्यक्रम सम्पन्न गरिसकेको छ । हालै पार्टी केन्द्रको मेची महाकाली राष्ट्रिय अभियानलाई सहयोग गरेको बताउँदै अध्यक्ष हरिप्रसाद घर्तिमगरले अब पार्टी केन्द्रको बैठक बसी निर्वाचन केन्द्रित कार्यक्रम तय तय गरिने जानकारी दिनुभयो ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) रोल्पा भने निर्वाचन गतिविधिमा अन्य दलभन्दा अगाडि देखिएको छ । सो पार्टीले जिल्लाका सबै वडा, गाउँपालिका र नगरपालिकाको अधिवेशन गरिसकेको छ । पार्टी अध्यक्ष सुरेन्द्र घर्तीका अनुसार वडा, गाउँ र नगरपालिकाको अधिवेशनकै क्रममा उम्मेदरवार बन्न योग्य व्यक्ति छनोट भइसकेकाले स्थानीय तहमा समेत मोटामोटी तिनै व्यक्ति उम्मेदवार हुने स्पष्ट पार्नुभयो ।
राप्रपा रोल्पामा भने पार्टी एकतापछिको विवाद अझै सकिएको छैन । जिल्लामा दुई समूहले आआफ्नो समूहका अध्यक्ष घोषणा गरेका छन् । टीकाबहादुर ओलीलाई पूर्वराप्रपा नेपाल पक्षधर र अमरबहादुर थापालाई पूर्वराप्रपा पक्षधरले समर्थन गरेका छन् । जिल्लामा दुवै समूहको छुट्टाछुट्टै पार्टी कार्यालय अझै पनि कायम छ । दुवै समूहले समानान्तर गतिविधि गरिहेका कारण स्थानीय तहको निर्वाचनमा उनीहरुको ध्यान जान सकेको छैन ।
सङ्घीयताको विरोधमा रहेको राष्ट्रिय जनमोर्चा रोल्पाले समेत जिल्लामा निर्वाचन गतिविधि सुरु गरेको छैन । “पार्टी केन्द्रको सर्कुलर प्राप्त हुनेबित्तिकै निर्वाचन केन्द्रित गतिविधिमा लाग्छौँ”, अध्यक्ष मेघनाथ विष्टले भन्नुभयो ।
जिल्लामा सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल परिवार दल, नेपाल मजदुर किसान पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले र नयाँ शक्ति नेपाल पार्टीसमेत निर्वाचन आयोगमा दर्तामा रहेका छन् । माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र मोहन वैद्यले नेतृत्व गरेको नेकपा९क्रान्तिकारी माओवादी० भने निर्वाचन कार्यालयमा दर्ता गरेका छैनन् ।
नेकपा रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्रीले आफूहरुले संविधान नै अस्वीकार गरेको हँुदा त्यही संविधानअन्र्तत हुने कुनै पनि निर्वाचनमा सहभागिता नजनाउने प्रस्ट पार्नुभयो । रासस